News

 

चितवन, माघ ७ ।
चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले विषदीको प्रयोग बढ्नुका साथै अनियन्त्रित प्रयोग भइरहेको बताए । नेपालमा धेरै जसो तरकारीमा अनियन्त्रित विषादीको प्रयोग गरिएको विज्ञहरुको भनाइ छ ।
विषादी छर्दा किसान आफै पनि सुरक्षित नभई छर्ने गरेको बताउँदै कृषि विज्ञहरुले किसानमा अझै पनि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको विज्ञहरुको तर्क छ । विषादीको जथाभावी बिक्रि वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।

किसानले वर्षेनी विषदीको प्रयोगको मात्रा बढाउँदै लगेको बताउँदै विज्ञहरुले यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकरात्मक प्रभाव पारिरहेको बताए ।

युवा पुस्ता कृषिलाई अंगाल्न तयार नै नहुनु, कृषि पढेका विद्यार्थीले पनि विदेश नै प्रमुख रोजाइ बनाउनुले अब नेपालमा कृषि क्षेत्र विकास गर्न निकै चुनौती हुने संकेत देखिएको भन्दै विज्ञहरुले यसतर्फ बेलैमा सचेत हुन सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।

 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्राडा शारदा थपलियाले अहिले प्रयोग भइराखेको विषादी र औषधीले काम नगर्ने अवस्था आएको बताइन् । त्यसकारण किसानले कडा विषादी खोज्ने गरेको र नपाएको खण्डमा भएको विषदीलाई कडा बनाउने नाममा अत्याधिक प्रयोग गरिरहेको उनको भनाइ छ । एउटा विषदीको प्रयोग गरिरहँदा त्यसलाई सहन गर्न सक्ने प्रणाली किरामा विकास हुने बताउँदै उनले त्यस्तो अवस्थामा विषदीको मात्र बढाउने नभई विषदीको परिवर्तन गर्नुपर्ने बताइन् । नयाँ विषादीको अनुसन्धान र प्रयोग एवम् विषादी न्यूनिकरणका लागि विश्वविद्यालयले काम गरिरहेको उनको भनाइ थियो ।

उनले चितवनमा कृषि विकासको प्रचुर संभावना रहेको बताउँदै विश्वविद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताइन् ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकास श्रेष्ठले युवा र महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । जसका लागि बागमती प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने कार्यक्रम ल्याउन लागेको बताए ।

कृषि विद्यार्थीहरुलाई कृषि उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्यार्थीलाई पनि ऋण उपलब्ध गराउने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने आवश्यकतालाई मनन गर्दै प्रदेश सरकार प्राङ्गारिक कारखना स्थापना गर्नतर्फ अगाडि बढेको उनको भनाइ छ । एक्कासी रासायनिक मल र रासायनिक विषादीलाई त्यागि हाल्न नसकिने बताउँदै उनले यसलाई व्यवस्थित र न्यूनिकरण गर्दै प्राङ्गारिकलाई बढाउँदै लैजानुपर्ने बताए ।

विषादीको अनियन्त्रित प्रयोगलाई रोक्न प्रदेश सरकारले ऐन नै बनाएर अघि बढ्ने उनको भनाइ छ । विषादीको प्रयोगपछि विषादी नष्ट गर्ने विधि नेपालमा नरहेको बताउँदै यो प्रविधि पनि भित्र्याउन आवश्यक रहेको उनी बताउँछन् ।

गोष्ठी कार्यक्रमका अन्य वक्ताहरु बागमती प्रदेशका पूर्व मन्त्री एवम् चितवन जिल्ला गुरुयोजना समिति संयोजक विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेल, उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडीले पनि विषादीको अनियन्त्रित प्रयोग रोक्नुपर्नेमा जोड दिएका थिए ।

उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले गोष्ठीमा सहभागीलाई स्वागत गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गोष्ठी सञ्चालन गरेका थिए ।

चितवन महोत्सव कृषि प्रवद्र्धन समिति संयोजक मकुन्द प्रसाद गौतमले कृषि विकास र रासायनिक विषादीको न्यूनिकरणमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै गोष्ठीको समापन गरेका थिए ।
गोष्ठीमा कृषिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, कृषक समुहका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।

 

 चितवन, माघ ६ । 

 उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको बाह्रौं दिन भोलि माघ ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार भोलि ११ः३० बजेपछि कलाकार प्रजापती पराजुली र शान्तारानी परियारको प्रस्तुती रहने छ । त्यसैगरी २ः३० बजेपछि रचना रिमालको प्रस्तुती रहने छ । त्यसैगरी समय समयमा स्थानीय कलाकार निश्चल मगर र सम्झाना श्रेष्ठको प्र्रस्तुती रहने छ ।

त्यसैगरी भोलि समय समयमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल बोटे समाज चितवन, दासढुङ्गा युवा क्लव, नेपाल मगर संघ, तमु ह्युला छोंज धीको प्रस्तुती रहने छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता भालि पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल भोलि माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

 

 

चितवन, माघ ६ । तस्विर कोमलचन्द्र भगत ।
चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानीः वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ ।

वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

 

गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो ।

गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए ।

पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् ।

विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ ।

विद्यालयहरु यो धनिले पढ्ने र यो गरिबले पढ्ने भनि जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरा समेत गोष्ठीमा उठेको छ ।

शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षा सेवामुलक हुनुपर्नेमा जोड दिँदै नीजि क्षेत्रले लगानी गरेका छौं भन्दैमा धेरै नाफामुलक बनाउन नहुने बताए ।

पहिला गाउँबाट शहर पढ्न आउने प्रवृत्ति रहेको सम्झँदै उनले अहिले शहरबाट विदेश पढ्न जाने लहर बढेको बताए । यो समस्या हो तर यो कसरी आयो भन्ने कुरामा हामीले विचार गर्नुपर्ने बताए । मेरो बच्चा विदेश पढ्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानले गर्दा विदेश जाने लहर झन् बढ्दै गएको उनको तर्क थियो ।

लामो समयसम्म विदेश जाने क्रम नरहने बताउँदै उनले यो एउटा बिन्दुमा पुगेर क्रमशः घट्दै जाने भएकाले निराश नहुन सहभागीहरुलाई आग्रह गरे । सँधै वैदेशिक शिक्षा नै प्रमुख रोजाइ नहुने निश्चित रहेको बताउँदै उनले गोष्ठीमा उठेका विविध विषयलाई सरकारले गम्भीररुपमा लिएर अघि बढ्ने बताएका छन् ।

गोष्ठी कार्यक्रमका संयोजक एवम् चितवन महोत्सव शिक्षा समिति संयोजक शंकर अधिकारीले गोष्ठीमा उठेका विषयहरुलाई उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनले सम्बन्धित निकायहरुमा पुर्याउने बताउँदै चितवनको शिक्षा क्षेत्रको विकासमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

Subcategories