News

१९ माघ, काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू महोत्तरीका हुन् । तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ । सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । स्कोर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको बताइएको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।

माघ १७, भरतपुर ।
भरतपुर महानगरपालिका वडा नं. ३ ले वडा भित्रका टोलविकास संस्था र महिला समुहका प्रतिनिधीहरुलाई दुइ दिने आवासीय दिएको छ । माडी नगरपालिका वडा नं–८, अयोध्यापुरीमा भएको टोल विकास संस्था र महिला समूहलाई दिइएको दुईदिने आवासीय तालिममा सहभागी भएका प्रतिनिधिहरुले वडाले अघि सारेका सबै किसिमका कार्यक्रम तथा योजनाहरुलाई कार्यान्वयनमा लैजान सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिका वडा नं–३ का टोल विकास संस्थाहरुले वडाको समग्र विकासमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । भरतपुर–३ नं वडाले वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणका कार्यक्रम गर्दै आएको छ । यसबाहेक सिलाइकटाइ तालिम, संस्कृति बचाउन मादल बजाउने तालिम दिइरहेको छ ।

कौसी खेती प्रवद्र्धनका लागि तालिम, मल–बीउ वितरण, टोल विकास संस्थाको क्षमता विकास तालिम, लागूऔषध दुर्व्यसन न्यूनीकरण, विपन्नलाई न्यानो कपडा वितरणलगायतका कार्यक्रमहरु गरेको छ । यस्तै कालोपत्रे, ढल तथा नाला निर्माणलगायत भौतिक पूर्वाधारका ठूला योजनाहरु पनि वडा नं–३ ले गरिरहेको छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विभिन्न शिविर तथा स्वास्थ्य परीक्षणका कार्यक्रम पनि वडाले गरेको छ । ‘वडाको समग्र विकासमा टोलहरुको साथ र सहयोग छ, वातावरणमैत्री वडा बनाउन यहाँ टोलहरुमा सरसफाइ सामग्री वितरणदेखि सूचकहरुको विषयमा तालिम प्रदान गरिएको छ’, बेलचोक टोल विकास संस्थाका उपाध्यक्ष श्रीकृष्ण लम्सालले भने, ‘सरसफाइ अभियान चलाइरहेका छौँ, सौन्दर्यीकरणका कामहरु भइरहेका छन्, टोलहरुको योजना नै वडाले बनाएको छ, यसलाई कार्यान्वयनमा ल्याउन कामहरु टोलमा भइरहेका छन् ।’ क्षमता विकास आवासीय तालिममा भरतपुर–३ नं वडाका मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेलले वडाभित्र भएका विवाद, झैझगडालाई मेलमिलापबाट टुङ्गो लगाएको बताए । उनले हालसम्म मेलमिलाप समितिले गरेको कामको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त मूल समितिका सचिव सुरेन्द्र धितालले वातावरणमैत्री तथा पूर्ण सरसफाइ कार्यक्रमले वडालाई हरियाली बनाउन सहयोग गरेको बताए । बाह्रघरे टोलका सचिवसमेत रहेका धितालले टोलहरुलाई वातावरणमैत्री बनाउन सूचकहरु पूरा गर्ने काम भइरहेको बताए ।

तालिम कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष विकास थापाले वडाका हरेक विकास निर्माण तथा क्षमता, सीप विकासका कार्यक्रममा टोलहरुको सहकार्य रहेको बताए । उनले भने, ‘टोलहरुको योजनालाई अघि सारिएको छ, यसवर्ष पनि वडामा भरतपुर महानगर, प्रदेश सरकार तथा संघीय सरकारबाट करोडौँका योजनाहरु परेका छन् ।’ उनले आवासीय तालिमले टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता विकास गरेको, हालका कार्यक्रमलाई अगाडि बढाउन गृहकार्य भएको र भावी कार्यक्रमको योजना बनेको बताए । कार्यक्रममा जनप्रतिनिधिहरु माधव अर्याल, कमलादेवी बोलखे तथा रामबहादुर लोहनीले वडामा टोल विकास संस्था र जनप्रतिनिधिबीच हरेक काममा ऐक्यबद्धता र समन्वय रहेको बताएका थिए ।युवा समाज नेपालका महासचिव किशोर खनालले वातावरण र सरसफाइको विषयमा प्रशिक्षण दिएका थिए । यस्तै, फोटो र भिडियोसम्बन्धी कोमलचन्द्र भगत, टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारको विषयमा रामचन्द्र आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चारकर्मी अजिता अधिकारीले सञ्चालन गरेकी थिइन् । तालिममा टोलबाट छानिएका प्रतिनिधिहरुले टोल विकास संस्थाले गरिरहेको कामको समीक्षासमेत गरेका थिए ।


माघ ११, चितवन । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने अवधारणा अनुसार भूमिगत विद्युतिकरणको कार्यलाई उच्च प्रथामिकतामा रहेको उल्लेख गर्नुभयो । अहिले तारहरु लत्रिएको, ठुलाको संख्यामा रहेका पोलहरु हट्दा महानगरको सौन्दर्यतामा वृद्धि भएर जाने बताउनुभयो ।
पहिलो चरण अन्र्तगत भरतपुरका मुख्य सडक खण्डमा गरिएको कार्यले महानगरलाई स्मार्टका साथै सहज विद्युत आपूर्तिमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
महानगरपालिकामा भौतिक पूर्वाधार विकासको कार्य तीब्र रुपमा भएसँगै काठमाडौँपछि भरतपुरमा यो परियोजना पहिलो पटक सुरु भएको प्रमुख दाहालको भनाई छ ।
भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतिकरण ११ केभी लाईन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीब्र रुपमा अघि बढेको छ । १ महिनाभित्र ६ वटा फिटरबाट विद्युत आपूर्तिको कार्य पुरा हुनेछ भने ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । भूमिगत विद्युतिकरणसँगै ईन्टरनेट फाईबर बिछ्याउने कार्य पनि अघि बढी रहेको छ । अबको ६ महिनापछि सबै पोलहरु हटाइने छ । सबै विद्युतिय संरचनामा भूमिगत विद्युतबाट विद्युत प्रशारण हुने आयोजनाले जनाएको छ ।

Subcategories