News

माघ १०, चितवन ।  दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो ।

नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुनुहुनेछ ।

 

अन्य देशबाट समकक्षीसहित गैँडाका क्षेत्रमा काम गर्ने विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा काम गर्ने कर्मचारीहरु भने पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । एकसिङ्गे गैँडा भारतमा सबैभन्दा बढी पाइन्छ भने नेपाल एकसिङ्गे गैँडा पाउने देशमध्ये दोस्रो स्थानमा पर्दछ ।

बैठकमा गैँडा संरक्षणमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी योजनाहरु तय गरिने बताइएको छ । यसअघि गैँडा संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय बैठक इन्डोनेसिया र दोस्र्रो भारतको दिल्लीमा भएको थियो ।


माघ ९, भरतपुर । । चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रिकाले आज सोमबारबाट आफ्नो अनलाइन सँस्करण पनि शुरु गरेको छ । 
नारायणी टुडे डट कम narayanitoday.com को नाममा पत्रिकाले आफ्नो अनलाइन शुभारम्भ गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सो अनलाइन क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
अनलाइनको शुभारम्भ गर्दै मन्त्री थपलियाले सकारात्मक पत्रकारिताले मात्रै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।
‘अहिले सेलिब्रेटी हुने तरिकाले नकारात्मक पत्रकारिताले प्रश्रय पाएको छ । अब यसलाई रोक्न सक्नुपर्छ ।’–मन्त्री थपलियाले भन्नुभयो । प्रदेश सरकारले सबै पत्रकारको क्षमतालाई कदर गर्ने बताउँदै उहाँले यहाँका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि ठोस कार्यक्रम ल्याउन लागिएको पनि बताउनुभयो ।
अब सिंहदरबारदेखि गाउँपालिकासम्मको खाडललाई सञ्चारजगत्ले पुर्नुपर्ने विषयमा पनि मन्त्री थपलियाको जोड थियो । उहाँले चितवनको पत्रकारितामा नारायणी टुडे मासिकले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो । ‘पत्रिकाले यहाँको गतिविधिलाई महत्व दिएको पाएको छु, अब अनलाइन संस्करणले पनि यस कुरालाई निरन्तरता दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।
नारायणी टुडे मासिकका प्रकाशक एवम् अनलाइनका सञ्चालक वीरेन्द्रमणि पौडेलले पत्रिकाको विषयवस्तुलाई विश्वव्यापीकरण गर्नका लागि अनलाइन संस्करणमा प्रवेश गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहेपनि आफ्ना विषयवस्तुलाई अनलाइनमार्फत देशविदेशमा पु¥याउन पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । ‘अहिलेको युग डिजिटल युग हो । नयाँ मिडियालाई हामीले पछ्याएका मात्रै हौँ । अब नयाँ मिडियाको प्रयोगसँगै हामीले चालेको नयाँ यात्रालाई आम पाठकले पक्कै न्याय दिनुहुनेछ ।’–सञ्चालक पौडेलले भन्नुभयो ।
नारायणी टुडे मासिक विगत २३ वर्षदेखि चितवनबाट नियमित प्रकाशन भईरहेको छ । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन सँस्करण सुरु गर्न अनुमति पाएसँगै नारायणी टुडे डट कम सञ्चालनमा आएको हो । अनलाइनको सञ्चालकमा वीरेन्द्रमणि पौडेल र सम्पादकमा हरिप्रसाद पोखरेल रहनुभएको छ ।
अनलाइन शुभारम्भ कार्यक्रममा चितवनमा विभिन्न सञ्चारकर्मी, व्यवसायी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 
 माघ ९, चितवन ।
नारायणगढ - नारायणगढमा सम्पन्न मैत्रीपुर्ण फुटसलमा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था विजयी भएको छ । 
 
आज (सोमबार) क्षेत्रपुर फुटसल एरेनामा भएको खेलमा विश्वकर्मा साकोसले सुनचाँदी  बचत तथा ऋण सहकारी संस्थालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा विश्वकर्मा साकोस ४-३ ले विजयी भयो । 
 
विजेता विश्वकर्मा साकोसले नगदसहित शिल्ड प्राप्त गरेको छ । मैत्रीपुर्ण फुटसलमा ६ टोली सहभागी थिए । 
 
यस्तै आजै सम्पन्न मैत्रीपुर्ण भेटेरान फुटसलमा सुनचाँदी साकोस विजयी भएको छ । सुनचाँदी साकोसले विश्वकर्मा साकोसलाई २-१ ले पराजित गरेको हो । 
 
भेटेरानको विजयी टोलीले पनि नगदसहित शिल्ड प्राप्त गरेको छ । विजयी टोलीहरुलाई सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर खातीले पुरस्कार वितरण गरे ।
 
दिगो सहकारी संस्थाका लागि स्वस्थ शेयर सदस्य भन्ने नारासहित मैत्रीपुर्ण फुटसल आयोजना गरिएको हो । सहकारी सञ्चालक र कर्मचारीहरुको स्वास्थ्य तथा सम्बन्ध मजबुद बनाउन मैत्रीपुर्ण फुटसल आयोजना गरिएको सुनचाँदी साकोसका अध्यक्ष रुविन रामुदामुले बताए । 
 
 
 

Subcategories