News

 

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारीले बजार नपाएकाले चितवनका किसान आन्दोलित बनेका छन्। शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नाराणगढको पुल्चोकमा हजरौँ किलो तरकारी सडकमा खन्याएर विरोध प्रदर्शन गरेका हुन् । भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण स्थानीय उत्पादले बजार भाउ पाउन सकेको छैन भने प्रशासनले अवैध तरकारी भित्रिन नदिन यथेष्ट पहल गर्न नसकेको आरोप विरोध प्रदर्शनमा उत्रिएका किसानहरुले लगाएका छन् । ‘प्रदर्शनकर्ताले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’, किसान मारा दलालहरु होसियार, रासायनिक मलको उचित मुल्य धरमरमा, ३००० तिरे घरघरमा, कृषि क्रान्ति जिन्दावाद, किसानमारा अनुदान नीति बन्द गर लगाएतको नारा लगाएका थिए । किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालको नेतृत्वमा किसानहरुले आन्दोलन गरेका हुन् । 

 


माघ १९, चितवन। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९र०८० को ६ महिनामा कर संकलनमा कमी आएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल असन्तुष्ट बन्नु भएको छ ।
बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९र०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधीमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । महानगरपालिका हुनलाई न्युनतम रु १ अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ । महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दान कमी भएपनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौका आयोजनाहरु सञ्चालन गर्दै आएको छ ।
महानगरपालिका प्रमुख दाहालले राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु १ अर्ब संकलन हुनेमा समेत आशंका व्यक्त गर्नुभयो । भरतपुरको राजस्व संकलनको अवस्था निकै टिठ लाग्दो रहेको बताउनुभयो । करको दायारलाई फराकिलो पार्दै अभियानलाई तीब्र रुपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिनुभयो । कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो । भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाईने उहाँको भनाई थियो । अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो । भने चालु आर्थिकको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ ।
यसैबीच कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफनो घरको घरवाहल कर तिरेर अभियानको उद्घाटन गरिएको छ । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो ।

माघ १७, चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने सुचना जारी गरेको छ।
प्रशासनले आज एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गर्न लागेको सुचना पत्रमा उलेख गरिएको छ ।

यस्तै सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झट रहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब ३ हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।

Subcategories