बैशाख २, रत्ननगर । तस्विर कोमल चन्द्र भगत ।  चितवनमा शनिबारबाट सुरु भएको २९औं वन्यजन्तु सप्ताह सप्ताह अन्तर्गत आइतबार टिकौलीमा राजमार्गको दायाँबाया सरसफाई गरिएको छ । टिकौली मध्यवर्ती सामुदायिक वनको आयोजनामा भएको कार्यक्रममा टिकौली जंगलको रत्ननगर खण्डको दुबै तर्फ सरसफाई गरिएको हो । कार्यक्रममा सहभागी संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरसफाई अभियान्ताहरुले राजमार्गको वरिपरी जथाभावि फालेका प्लाष्टिक र सिसा जन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । संकलित फोहोर सफा उर्जा उत्पादन प्रा।लि।ले व्यवस्थापन गरेको हो ।

वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले टिकौली जंगलमा जथाभावि फालेको फोहोरले वन्यजन्तुलाई गम्भीर असर परेको भन्दै जैविका विविधताको संरक्षणको लागि सरसफाई गरिएको बताए । उनले सप्ताहमा संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका कार्यक्रमहरु आयोजना गरिएको बताए । वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले वन्यजन्तु सप्ताहको महत्वका बारेका प्रकास पारेका थिए । वनकी सचिव शान्ति रिजालले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष राधा पौडेल सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने बाघमारा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङले जानकारी दिए । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।