बैशाख ३, रत्ननगर । तस्विर कोमलचन्द्र भगत । पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार चरा अबलोकन गरिएको छ । चितवनमा जारी २९औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अबस्ता पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा चरा अबलोकन गरिएको छ । चरा संरक्षणकर्मी र नेचर गाइडहरुले सो सामुदायिक वनमा उपकरणको प्रयोग गरी चराको अबस्था हेर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातीको बारेका जानकारी समेत गराएका थिए । सो सामुदायिक वन चराको बासस्थानको हिसाबले अब्बल मानिदै आएको छ । चितवनमा रहेका ६५५ प्रजाती मध्ये ५० प्रतिशत प्रजाती सो सामुदायिक वनमा रहेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले जानकारी दिए । चरा लगायत दुर्लभ वन्यजन्तुको राम्रो बासस्थान हुँदाहुँदै पनि सो सामुदायिक वनलाई सौराहाको पर्यटन संग जोड्न सकिएको छैन् ।

सौराहाको निकटका रहेका अन्य बाघमारा, चित्रसेन,कुमरोज सामुदायिक वनले पर्यापर्यटनबाटै बार्षिक दूई करोड रुपैया आम्दानी गर्दै आएका छन् । करिब २० बर्ष नेतृत्व कमजोर हुँदा जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको हो ।ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दवाव र्सिजना गर्न वन्यजन्तु सप्ताहको अबसरमा पारेर चरा अबलोकन कार्यक्रम राखिएको वर्ड एजुकेशन सोसाइटीको अध्यक्ष टिका गिरीले बताए । चरा अबलोकन सुरु हुनुपूर्व मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सो कार्यको उद्घाछन गरेका थिए । सो अबसरमा बोल्दै उनले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको बताए । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आर्कषित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाई छ । उनले पर्यटकलाई डुंगा सयर गराइरहेको जनकौलीमा निकट भविश्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जन आधार तयार गर्ने बताए । वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष गिरीले वन्यजन्तु सप्ताह प्रति सौराहाका व्यवासयी उदासीन रहेको बताए । वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरु नै सप्ताहमा उपस्थित भएनन उनले भने संरक्षणकर्मीले जोगाइदिएर व्यवसाय चल्ने भनेर सोच्ने मुर्खता मात्र हो । जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले सामुदायिक वनमा चराको राम्रो बासस्थान रहेको बताए । अन्य देशहरुबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको उनको भनाई छ । कार्यक्रममा चितवन निकुञ्जका रेन्जर अक्षय चौधरी, बाघमारा वनका अध्यक्ष जीत बहादुर तामाङ, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतले मन्तव्य राखेका थिए । वनकी सदस्य सावित्री अर्यालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सहसचिव फडिन्द्र चौधरीले सञ्चालन गरेका थिए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोली बैशाख ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने जनाइएको छ । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।