बैशाख ५, रत्ननगर । तस्विर ः कोमल चन्द्र भगत । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत बुधबार बुढिराप्ती नदी सरसफाई गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा चित्रसारी पुलदेखि डुंगाघाट सम्म सरसफाई गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सरसफाई कार्यक्रमको रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतोले उद्घाटन गरेका थिए । सो अबसरमा उनले वाताबरण र प्रकृति संरक्षणको हिसाबले नदी प्रदुषण रोक्नु पर्ने बताए । नदी प्रदुषण हुँदा गाही लगायत नदीमा आश्रित प्राणी संकटमा परेको भन्दै उनले नदीमा मानवीय चाप घटाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणको दृष्टिकोणले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहप्रति निकुञ्ज र सौराहाका व्यवसायीहरुले बेवास्था गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । वन र वन्यजन्तु देखाएर लाभ लिएका सौराहाका व्व्यवसायी र संरक्षणको जिम्मेवारी लिएका निकुञ्जका अधिकारीहरुले सप्ताहलाई नगर अन्दाज गरेको भन्दै अध्यक्ष घिमिरेले यस्तै प्रवृति हावी भए समुदायले संरक्षणको दायित्व बहन नगर्ने चेतावनी दिए । संरक्षण समुदायको मात्र ठेक्का हो उनले भने निकुञ्ज र व्यवसायीले चासो लिनुपर्दैन । चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा यूवा क्लवको सहयोगमा आयोजित कार्यक्रममा सहभागी संरक्षणकर्मीहरुले नदी र नदी किनारमा जथाभावी फालेका प्लाष्टिक तथा सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा बाघमारा वनका अध्यक्ष तामाङले वन जोगाए बापत बाघमाराले समुदाय केन्द्रीत कार्यक्रम गरिरहेको भन्दै पछिल्लो समय गरिवी निबारणका लागि गतिविधि सञ्चालन गरिरहेको बताए । वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीहरुमा मानवीय चापका कारण जलचर प्राणी संकटमा परेको बताए । वनकी सदस्य सरस्वती चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा टिकौली मध्यवर्ती सामुदायिक वनका कार्यबहाक अध्यक्ष टीकाराम गिरी, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, सौराहा लेडी जेसीजकी सुस्मिता न्यौपाने, लियो क्लव अफ चितवन सौराहाका अध्यक्ष संजय पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सप्ताह अन्तर्गत बैशाख ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली, सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने जनाइएको छ । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।