News

 

रत्ननगर,५ भदौ ।

इ प्लानेट कन्सल्टेन्सीले आफ्नो १७ औं शाखा रत्ननगरको बकुलहरमा शुभारम्भ गरेको छ । शाखाको आइतबार रत्ननगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले उद्घाटन गर्नुभयो । उद्‌घाटन कार्यक्रममा बोल्दै कल्सल्टेन्सीका कार्यकारी निर्देशक नयन लामिछानेले उच्च शिक्षा अध्ययनका लागि इ प्लानेट उत्कृष्ट गन्तव्य भएको बताउनु भयो । विदेश जान चाहने विद्यार्थीहरुमा भएको अन्योलता हटाउन इप्लानेटले सहि परामर्श दिइरहेको उहांको भनाइ छ । लामिछानेले पछिल्लो समय नेपालमा देखीएको राजनैतिक अस्थिरताका कारणले विदेश जान चाहने विद्यार्थीहरुको संख्या बढेको भन्दै विद्यार्थीहरुले विदेशमा आर्जन गरेको शिक्षा र सिकेको सिप नेपालमा फर्केर सदुपयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाले रत्ननगरका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि नारायणगढ, काठमाण्डौका कन्सल्टेन्सीमा जानुपर्ने बाध्यता हट्ने विश्वास ब्यक्त गर्दै इ प्लानेटको रत्ननगर शाखालाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा इ प्लानेट रत्ननगर शाखाका प्रमुख सिपी अधिकारीले विद्यार्थीका अभिभावकलाई आफ्ना छोराछोरी विदेश पठाउनका लागि बुझेर कल्सल्टेन्सीको छनौट गर्न सुझाव दिनुभयो । उहांले रत्ननगर र आसपासका विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै बकुलहरमा शाखा सुभारम्भ गरेको बताउँदै रत्ननगर शाखाले विद्यार्थीको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको भारतमा र अष्ट्रेलियामा समेत शाखा रहेको छ । भारतमा ४ र अष्ट्रेलियामा ३ शाखा रहेको कल्सल्टेन्सीले नेपालको मुख्य शहरहरू बुटवल, इटहरी, पोखरा, कावासोती, ललितपुर, हेटौडा, बनेपा लगायतका शहरहरुमा १० वटा शाखा स्थापना गरिसकेको छ । कल्सल्टेन्सीले अष्ट्रेलिया, क्यानडा, अमेरिका, वेलायत, न्युजिल्यान्ड लगायतका देशहरूमा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आइरहेको छ । उद्‌घाटन कार्यक्रममा इ प्लानेटकी शोभा लामिछानेले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथी तथा विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।

चितवन असोज ४ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण र व्यवस्थीत रुपमा आन्दोलनका कार्यक्रम गर्न आन्दोलनकारी शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।  बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पुरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नैपर्दा शान्तिपूर्ण र व्यवस्थीत रुपमा गर्न आग्रह गर्नुभएको हो । शिक्षकहरुको आन्दोलनका कारण बुधबार राजधानीको सवारी आवागमनको अवस्था अस्तव्यस्त भएपछि गृहमन्त्री श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुलाई सिंहदरबार बोलाउनुभएको थियो । सो क्रममा शान्ति सुरक्षाका बिषयमा मात्रै केन्द्रीत भएको शिक्षक संगठनका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयोे । उहाले आफ्ना मागका बारेमा संसदबाट नै समाधान निकाल्नुपर्ने बताउनुभयो । 

छलफलका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गर्नुभएको थियो । शिक्षक महसंघले भने विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ ।

चितवन असोज ४ ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।
विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन् । आचार्यले शुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने बताउनुभयो । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडालाई राखिनेछ ।
केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालिन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो । चितवनमा त्यहाँबाट ल्याइएका र चिडियाखानाबाट ल्याइएका थप दुईसहित १५ वटा अर्ना भने बच्न सकेनन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामकरण गरिएको थियो ।
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष तीन महिना उमेरका छन् । ती गैँडा अहिले पनि मानव वस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताउनुभयो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडा पठाउनका लागि सबै तयारी भइसकेको छ । पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । तर उक्त गणनामा यी गैँडा समावेश गरिएको छैन । हाल देशभर ७ सय ५२ गैँडा छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि भाले पठाएर प्रकृतिमा छोड्ने योजना छ ।  रासस

Subcategories