News

काठमाडौँ, भदौ ३० ।

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो। दिव्य सःमिल भित्र शुक्रबार राति ११ः५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। हत्या गरिएकमध्ये तीनजना एकै परिवारका हुन्। दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ अम्बिका भुजेल र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा भुजेल रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। हत्या आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताए। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन महाशाखाबाट ट्रयाकर कुकुर पनि ल्याइएको मैनालीले बताए। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।


भदौ, २९ चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाउन धेरै समय लागेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि रु १२ करोड आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो ।‘रंगशाला हामै पालामा बन्छ,उहाँले भन्नुभयो,‘हामी बनाउछौ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो । अहिले स्टीमेटको काम भईरहेका।’रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भईरहेको छ । स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने छ ।
मेयरले केही महिनाअघि रंगशाला बन्छ, ढुक्क हुनु होस् भन्नुभएको थियो, तर के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको सन्देश आफुले पाएको उहाँले बताउनुभयो।
प्रमुख दाहालले एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निर्णयले रु १२ करोड ऋण तिर्नको लागि महानगरपालिकामा पठाउने जानकारी दिनुभयो।
महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी हुने उहाँले बताउनुभयो ।
रंगशाला निर्माण गर्न वागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने र प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने प्रमुख दाहालको भनाई थियो ।
यसैबीच भरतपुर महानगरपालिकाको बृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार नारायणी नदी किनारमा सरसफाई तथा वृक्षरोपण गरिएको छ ।
पवित्र तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भईरहेको किनारको सौन्दर्यकरण र सरसफाईको कार्यको महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले पिपलको रुख रोपेर गर्नुभयो ।
प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार विहान टोल टोल, वडा वडा र नगरस्तरी सरसफाई निरन्तरता राखिने उल्लेख गर्नुभयो।
नारायणीको किनारमा पाम, समी, पिपल, बर लगायतका छिटो सर्ने विरुवा रोपिएको छ ।
प्रमुख दाहालले किनारमा ठुला पूर्वाधार निर्माण नगरिने स्पष्ट पार्नुभयो । उहाँले किनारलाई जति सक्दो हरियाली प्रर्वधन गरिने जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा अभियान्ता, टोल सुधार, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

२७ भदौ, काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ । बुधबार उनका छोराहरु पनि नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने काठमाडौंमै नेम्वाङसँगै थिए ।

 

 

 

 

 

 

Subcategories