News

४ पुस, चितवन । तस्विर :  कोमल चन्द्र भगत ।  चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना रहेको छ । गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले जानकारी दिए । हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे । ती गोही बच्चे दररेट निकै न्यून छ ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय तीन गोही भेटिएका जानकारी दिए । हाल प्रजनन केन्द्रमा सात सय ५९ वटा गोही छन् । तीमध्ये एक सय ९५ भुरा, चार सय ३२ किशोर अवस्थाका, एक सय अर्धवयस्क र ३२ वटा वयस्क रहेका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्नेलगायत गतिविधिका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उनको भनाइ छ ।  रासस

पुष २४, चितवन । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा हिजो (मंगलबार ) साँझ निधन भएको हो । नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ वर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन भएको हो । उनको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । पौष १ गते चितवनको माडीमा लायन्स क्लबअफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।

 

२२ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्दै उंहाले संसार धनि गरिब सबैको लागी समान भएको बताउदै प्राणीको रक्षामा आ(आफ्नो स्थानबाट सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कालिका नगरपालिका वडा नम्बर ९ का अध्यक्ष निलकण्ठ मगर, परिषदका केन्द्रिय सदस्य धर्मराज खनाल, विद्यालयका प्रधानाध्यापक वुद्धिराज गिरी, लगायतले उक्त अवसरमा बोल्नुभएको थियो । लटौलि स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको परिषरमा आयोजना गरिएको उक्त कार्यक्रम परिषदका सचिव सफल अधिकारीले संचालन गर्नुभएको थियो भने कार्यक्रमको संयोजन परिषदका उपाध्यक्ष दिलिप महतले गर्नुभएको थियो । कार्यक्रम श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सुर्यमणी ढकालको अध्यक्षतामा भएको हो ।

न्यानो कपडा तथा स्टेसनरी हस्तान्तरण कार्यक्रमलाई अमेरिका निवासी भोजराजरशान्ति चापागाई, अष्ट्रेलिया निवासी राज रश्रीषा आचार्य, रत्ननगर–१० निवासी तुल प्रसाद अधिकारी, टिकादत्त बराल, लायन्स क्लव अफ श्रीकृष्ण, शैलेश प्रसाद दाहाल, केशवराज बराल लगायतले सहयोग गर्नुभएको हो ।

Subcategories