News

चितवन, पुस १५ ।

नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले बताएका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले चितवनमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले व्यवसाय निकै सङ्कटमा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताउनुभयो । यसैगरी लेयर्स चल्ला साताको तीन लाखबाट एक लाखमा झरेको, कलर ब्रोइलर (गिरिराज) सातामा पाँच लाख उत्पादन हुने गरेकामा दुई लाखमा झरेको, दैनिक ६० लाख गोटा अण्टा उत्पादन २४ लाखमा सीमित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उहाँको भनाइ थियो । उहाँका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल तीन हजार पाँच सय टनमा झरेको छ । मासु दैनिक १० लाख किलोबाट छ लाखमा झरेको भट्टले जानकारी दिनुभयो । आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका भट्टले बताउनु भयो । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताउनुभयो । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “साना किसान धेरै विस्थापित भएका छन्, ठूलाले केही धानेका छन् ।” बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठूला फर्महरुले जोखिम मोल्दै उत्पादन गरिरहेको उहाँको भनाइ छ ।

ठूला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।” दस हजारदेखि चार लाखसम्म कुखुरा पाल्नेलाई ठूला किसानको रुपमा लिने गरिएको छ । ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न रु ७० खर्च हुने भए अहिले रु ३० मा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । यस्तै रु एक सय ४० मा तयार हुने लेयर्स चल्ला रु ७० हाराहारीमा बिक्री गर्नु पर्दा धेरै विस्थापित हुनुपरेको बताउनुभयो । तीन सय ८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरु बन्द भएको उहाँले बताउनुभयो । यस्तै १५ वटा लेयर्स ह्याचरीमध्ये पाँच वटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिनुभयो । जग्गा लिलाम हुने अवस्थामा हुंदा पनि, राज्यले नहेरको उहांको भनाइ थियो । सहुलियत कृषि ऋण हटेको भन्दै उहाँले चल्ला उत्पादन गर्ने माउ झिकाउनका लागि आर्थिक अभाव हुँदा ह्याचरीहरु बन्द हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएको उहाँले बताउनुभयो । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी रु दुई सय ५० लागत मूल्य पर्ने भए अहिले किसानले रु एक सय ८० मा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उहाँको दाबी छ । मञ्चका वरिष्ठ उपाध्यक्ष डा . रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अण्डा र मासुको खपत कम भएको बताउनुभयो । एसियाली मुलुकमा एक जनाले वार्षिक एक सय आठ वटा अण्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अण्डा र आठ किलो मासु मात्रै खपत छ भट्टराइले बताउनु भयो ।

 

पाँच वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अण्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उहाँले यसो हुन नसकेको बताउनुभयो ।

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य बढेको र उत्पादनले सो अनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय सङ्कटमा परेको बताउनुभयो । हालकै अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुने विसुरालको भनाइ छ ।

यसैबीच १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यसअवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अण्डा र मासुमा पाइने पौष्टिक तत्वबारेमा चिकित्सकहरुबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मनाइँदै आएको छ ।

चितवन, १३ पौष ।  रोग लागेर उपचार गर्नुभन्दा समयमै रोकथाम गर्नुपर्छ भन्ने उद्देश्यले साईराम डेन्टल केयर डाक्टर अजय डाक्टर सरु फाउन्डेसन को प्राविधिक सहयोग र किड्स वर्ल्ड मन्टेश्वरी आयोजनामा सिल चितवनको शुभारम्भ भएको छ। भरतपुर महानगरपालिका वडा नं. १२ , मुनालचोकस्थित  मन्टेश्वरी परिसरमा दन्त रोग सम्बन्धी विशिष्टकृत शिविर सम्पन्न गरिएको हो।

आयोजित विशिष्टकृत दन्त शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अजय न्यौपानेको मेडिकल टिममा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सरु थापा,डा.रबिन्स ढकाल,डा.चिरञ्जीवी पटेल लगाएतले मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, शिक्षक,अभिभावक र स्थानीय नागरिकहरुसहित १५० जनाको दाँतको चेकजाँच गरिएको मन्टेश्वरीकी प्राचार्य सावित्री खनालले बताउनु भयो। वरिष्ठ डेन्टल सर्जन डा.सरु थापाको अनुसार शिविरमा दाँतको स्वास्थ्य परीक्षणको क्रममा दाँत किराले खाएको , दन्त हर्साको समस्या, गिजा सुन्निएको, बुद्धि बंगाराको समस्या देखा परेको जानकारी दिनुभयो। शिविरमा उपस्थित सेवा ग्राहीलाई डा.अजय न्यौपानेले मानव जीवनमा दाँतको महत्त्व, दन्तरोग लाग्नुको कारण,बच्ने उपायबारे सचेतना प्रदान गर्नुभएको थियो। कार्यक्रमको प्राविधिक सहयोग डा. अजय,सरु फाउन्डेसन र नारायणगढस्थित साईराम डेन्टल केयरले गरेको हो। सो शिविर कार्यक्रममा फाउन्डेसनद्वारा मन्टेश्वरीमा अध्ययनरत करिब १०० जना विद्यार्थीलाई निःशुल्क दन्त ब्रस र कोलगेट वितरण गरिएको थियो।

के हो सिल चितवन(SEAL CHITWAN):-
निम्न माध्यमिक र मन्टेश्वरीमा(Pre-School) अध्ययनरत विद्यार्थीको दाँतको बाहिरी पत्र(Enamel)मा टाँसिने एक प्रकारको पदार्थ हो। दन्त सिलेन्ट जसले दाँतलाई सिल गर्छ। दाँतमा सिल गर्नाले दाँत किराले खाने समस्या मुखको दुखाईबाट बचाउँछ र लामो समयसम्म यसले दाँतलाई बलियो बनाउन मद्दत गर्छ। अनुसन्धानले देखाएको छ कि दाँतमा सिल गरिएको बालबालिकाहरूमा ६०%ले दन्त किराले खाने समस्या कम भएको छ।

किन सिल चितवन आवश्यकता छ?

अहिले नेपालमा सरकारी र गैरसरकारी विद्यालयमा अध्ययनरत २ वर्षदेखि ६ वर्ष उमेरका बालबालिकामा दाँत किराले खाने समस्या व्यापक छ यस्तो हुनुको मुख्य कारणहरू:-
१)अनिवार्य दिनमा दुईपटक फ्लोराइड युक्त पेस्टले दाँत सफा नगर्नु।
२)दाँतमा टाँसिने र गुलियो खानेकुरा बढी खानु जस्तै चकलेट चाउचाउ इत्यादि
३)सबैको पहुँचमा दन्त उपचारात्मक सेवा उपलब्ध नहुनु
४) भएको खण्डमा पनि ६-६ महिनामा दन्त परीक्षण नगराउनु।

त्यसैले यदि यस्ता समूहका बालबालिकालाई उनीहरू अध्ययनरत विद्यालयमा गएर (Dental Sealent)डेन्टल सिलेन्ट लगाइदिँदा किराले खाने समस्या ६०%ले घटेको हाम्रो छिमेकी राष्ट्र कम्बोडियाले गरेर देखाएको छ।

डेन्टलको रोकथामक उपचार उपचारात्मक उपचारको तुलनामा सस्तो, सरल र सजिलो छ। डेन्टल सिलेन्ट (Dental Sealent) समयमै २-६ वर्षका बालबालिकाको स्थायी पहिलो बङ्गारा र अस्थायी बङ्गारा लगाउन सकियो भने भविष्यमा दाँत किराले खाने, पीडा हुने, मुख सुनिने समस्या नहुने औषधिको प्रयोग गर्नै नपर्ने, उपचारात्मक उपचार गर्न नपर्ने, जुन खर्च र समय लाग्ने दाँत किरा लागेको बालबालिकाले राम्रोसँग पोसिलो खानेकुरा खान नसक्दा उनीहरूको मानसिक र शारीरिक विकासमा पनि प्रत्यक्ष र अप्रत्यक्ष समस्या भएको अनुसन्धानले देखाएको छ। त्यसैले सुरुकै अवस्थामा दन्त सिलेन्ट गर्न सकियो भने यस्ता समस्यालाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।
यो कार्यक्रम (Seal Chitwan)चितवनमा सरकारी, गैर सरकारी,निम्न माध्यमिक विद्यालय र मन्टेश्वरीमा गरिनेछ।

यस कार्यक्रमलाई सुरुवात गर्न सहयोग गर्नुहुने भरतपुर महानगरपालिका वडा नम्बर १२ मुनालचोकमा रहेको किड्स वर्ल्ड मन्टेश्वरीका प्रबन्धक निर्देशक निरु खतिवडा,प्राचार्य सावित्री सुवेदी खनाल लेखा अधिकृत बागमती श्रेष्ठ सम्पूर्ण मन्टेश्वरी परिवार र साईराम डेन्टलमा कार्यरत डा. रोबिन्स ढकाल, डा.चिरंजीवी पटेल, डा. सुशीला अर्याल र सम्पूर्ण प्राविधिक टिमलाई विशेष धन्यवाद दिन चाहन्छौ।

पुष १३, सौराहा चितवन । तस्विर :  कोमल चन्द्र भगत । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो ।

शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरियालले सयुक्त रुपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर उद्घाटन गरेका थिए ।

कम्पनीको डिलरसीपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ । यहि वर्षको मंसिरबाट औपचारिक उत्पादनमा आएको विश्वस्तरीय लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण ब्यवसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्याधिकरुपमा रुचाइएको छ । कम्पनीले आफ्ना उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ । लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन लुम्बिनी सेरामिक्सले आउँदो वर्ष २०२५ मा अन्य ५० भन्दा बढी विशेष शोरूमहरूको स्थापनाको यात्रातर्फको पहिलो पाइला भएको टिप्पणी गरे ।

“चितवनमा हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र हाम्रा उत्पादनहरुमाथि विश्वास राख्दै नेपाली उपभोक्तालाई यहीँ उत्पादित विश्वस्तरीय शतप्रतिशत भिट्रिफाइड टायल्स उपलब्ध गराउने हाम्रो प्रतिबद्धता पूरा गर्ने दिशामा हामीलाई साथ दिनुभएकोमा हामी जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सप्रति आधार छौं,” उनले भने, “हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटनले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने तर्फको लुम्बिनी सेरामिक्सको यात्राको थालनीलाई संकेत गरेकोछ ।”

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा टायलहरु चारवटा आकारमा उपलब्ध हुनेछन् । करिब ९९।९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् । उद्घाटन कार्यक्रम जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सका सञ्चालक सागर दुवाडीको अध्यक्षतामा भएको थियो ।

Subcategories