News


चितवन, पुस २ । भरतपुर महानगरपालिका वडा नम्बर को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिनुभयो । प्रमुख दाहालले भरतपुर वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाको तुलनामा धेरै अगाडि बढी सकेको उल्लेख गर्नुभयो । वडा नम्बर ७ मा हुलाकी राजमार्गदेखि महानगर र प्रदेशबाट निर्माण भएका फराकिला सडकहरु प्राप्त रुपमा रहेको बताउनुभयो । दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ भवन निर्माण गरिएको जानकारी दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्ष अघिको भरतपुरको स्वरुप र अहिलेको भरतपुरको पूर्वाधार विकास देशकै अग्रणी पालिकाको रुपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले वडा कार्यालय निर्माणमा सम्पूर्ण वडावासीलाई निगरानी गर्न आग्रह पनि गर्नुभयो । भवनको उत्तरगया बिस कौनानी जेभिले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी भदौ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । कार्यालय भवनमा ११ वटा कोठा हुनेछ भने १०० जना क्षमताको हल निर्माण हुने जनाइएको छ ।

चितवन, पुष २ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको तेस्रो दिन दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस गरिएको छ । बहसमा वक्ताहरुले कृषिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि कृषि नीतिलाई पनि आधुनिक कृषिमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । कृषिको जग्गामा कर कम गर्ने, जग्गा बाँझो राख्न नदिने, जथाभावी जग्गा खण्डिकरण गर्न नदिने लगायतका नीति ल्याउन आवश्यक रहेको कुरा बहसका क्रममा औंल्याइएको छ । कृषि रुपान्तरणका लागि विश्वविद्यालयको तहबाट भएका अनुसन्धानलाई प्रसारसँग जोडेर किसान समक्ष पुर्याउनु पर्ने आवश्यकता औंल्याइएको छ ।  देशभर संघ र प्रदेशको ६५ अर्ब र स्थानीयको ३५ अर्ब गरी कुल १ खरब बजेट यो आर्थिक वर्षमा विनियोजन गरिएको कुरा गर्दै वक्ताहरुले यसलाई अझै बढाउनुपर्नेमा जोड दिएका छन् ।विश्वविद्यालय, नार्क, र कृषि विभागले सहकार्य गरेर कृषि रुपान्तरणमा लाग्नु पर्ने निष्कर्ष बहसका क्रममा निस्केको छ । अर्गानिक खेतीलाई बढाउँदै लगेर रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् । जग्गालाई चक्लाबन्दी गरेर व्यावसायिक खेती गर्नुपर्ने र त्यसो गर्न सके कम लागतमा धेरै उत्पादन गर्न सकिने वक्ताहरुको भनाइ छ । नेपाली उत्पादन विदेशी उत्पादनभन्दा महँगो हुनुमा लागत दर घटाउने उपायहरु नअपनाउनु मुख्य कारण रहेको उनीहरुको जोड थियो । निर्वाहमुखी खेती गर्ने किसानको संख्या कम गर्दै व्यावसायिक कृषकहरुको संख्या बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको निष्कर्ष बहसले निकालेको छ । अनुदान वितरण थप प्रभावकारीरुपमा गर्नुपर्ने र वितरण प्रणालीलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको कुरा पनि बहसका क्रममा निस्केको छ । बहसमा विश्वविद्यालयका कृषि संकाय डिन प्राडा अर्जुन कुमार श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश सचिव विनोद भट्टराई, अर्गानिक कृषि गरिरहेका कृषक तथा माडी कृषक पाठशालाका सञ्चालक डा। भानेश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो भने विश्वविद्यालयका किट विज्ञान विभाग प्रमुख प्रा।डा। सुन्दर तिवारीले बहसको संचालन गर्नुभएको थियो । बहसमा किसान तथा विद्यार्थीहरुले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

पुष १, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको दोस्रो दिन आज नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस गरिएको छ । बहसमा वक्ताहरुले नीति नियम निर्माणको चरणका अवस्थामा पर्याप्त छलफल र बहस आवश्यक रहेको बताएका छन् । असल किसानको पहिचान गर्न सकेमात्रै सरकारको कार्यक्रम सफल हुुन सक्ने र त्यसका लागि अनुदान कार्यक्रम संचालन कार्यविधि अनुसार अनुदान दिनुपर्नेमा छलफल केन्द्रित रहेको थियो । तथ्याङ्कका अनुसार नेपालमा ४१ लाख कृषक सूचीकृत भएता पनि प्राथमिक पेसा कृषि हो की हो होइन भन्ने कुरा सोचनीय अवस्था रहेको कुरा छलफलमा वक्ताहरुले निकालेका छन् । छलफलमा कृषिलाई उद्यमसँग जोड्न नसके कृषिको रुपान्तरण गर्न निकै कठिन रहेको वक्ताहरुको भनाइ छ । बहसमा कृषि विकास रणनीति र सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले नेपालको कृषिलाई कता लैजाने भन्ने दिशा निर्देश गर्नुपर्ने वक्ताहरुको जोड थियो । कतिखेर हामीले इनपुटमा आधारित, कतिखेर व्यवसायिक कृषि, कतिखेर स्थानीय एवम् रैथाने बाली र बाली प्राङ्गारिक कृषिका कुरा गरिरहँदा नेपालको कृषि क्षेत्रले सही दिशा लिन नसकेकाले कृषि नीतिको तर्जुमा गर्दा हाम्रो आवश्यकता र प्राथमिकतालाई ध्यान दिनु पर्ने कुरा बहसमा उठेको छ । नेपालमा अनुसन्धानबाट आएको उपलब्धिलाई सरकारले अनुसरण गर्न सकेको छैन भने कृषि शिक्षा अनुसन्धान र प्रसारको सम्बन्ध सैद्दान्तिक रुपामा मात्रै सिमित भएकोले व्यवहारत यो लागु हुन सकेको छैन । बदलिदो संघीय संरचना अनुसार विश्वविद्यालयको उपस्थिति प्रदेश र स्थानीय तहका कार्यालयहरुसँग हुनुपर्नेमा समेत वक्ताहरुले जोड दिएका थिए । विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् स्थानीय तहसम्म जोडिन सके मात्र विश्वविद्यालय र अनुसन्धान परिषद्मा गरिएका अनुसन्धानहरु स्थानीय तहसम्म पुग्ने साथै स्थानीय आवश्यकता र समस्यामा आधारित अनुसन्धानमा अनुसन्धानका निकाय र विश्वविद्यालय जोडिन सक्ने वक्ताहरुले बताएका छन् । नेपालमा नीतिहरुको निर्माण अनुसन्धानमा आधारित नभएर पुराना कानुनका आधारमा निर्माण गरिने भएकोले नीति निर्माणमा पर्याप्त छलफल बहस पैरवी मार्फत सम्बन्धित सरकारवालाहरुको सुझाव संकलन गरेर मात्रै निर्माण गर्नुपर्ने छलफलको निष्कर्ष रहेको कार्यक्रमका सहजकर्ता, विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक तथा मेलाको मूल समारोह समिति सचिवालय सदस्य सह–प्राध्यापक रामहरि तिमिल्सिनाले जानकारी दिनुभयो । बहसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्र, विश्वविद्यालयकी उपकुलपति प्रा।डा। शारदा थपलिया, नेपाल किसान आयोगका सदस्य टेकबहादुर बोगटी, विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक एवं मेला मूल आयोजक समिति सचिवालय संयोजक प्रा।डा। ऋषिराम कट्टेल, नेपाल थोपा सिँचाइ प्रालिका अध्यक्ष खोजराज कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

Subcategories