News

पुष १,रत्ननगर । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुँदैछ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वन सौराहा चितवनको चौरमा हुने आयोजकले जनाएको छ । आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । सौराहा सहित समग्र चितवनको पर्यटन विकासको लागि हरेक बर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुनेछ ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न राष्ट्रपति पौडेलबाट चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिए । आवश्यक प्रक्रिया पुरा गरी हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन समारोहका बीच जिल्लालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उनले बताए । विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुन्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवनको सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।

सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको भन्दै संघका महासचिव गुणराज थपलियाले महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेकोछ । चितवन राष्ट्रिय निकुन्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ ।

हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग बिटुबी गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन समाबेश गरिएको संघका सचिव महेश खनालले जानकारी दिए । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने उनले जानकारी दिए । हात्ती तथा पर्यटन महोत्सवको अवसरमा व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेका छन् । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी लगायतले मन्तव्य राखेका थिए ।

३० मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।

मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

 

मंसीर २०, सौराहा । कोमल चन्द्र भगत ।  चितवनको सौराहामा बिहीबार मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोग सम्वन्धी कार्यशाला गरिएको छ । युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहांले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले दुई दशकअघि विश्वमा एक स्वास्थ्य अवधारणा आएपछि सरकारले ‘एक स्वास्थ्य नीति २०७६’ ल्याएको जानकारी गराउनुभयो। विभिन्न खालका महामारीको नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणा आएको उहांको भनाइ थियो । गैरेले पशु स्वास्थ्य र मानव स्वास्थ्यबारेको संयु्क्त अवधारणा नै एक स्वास्थ्य अवधारणा भएको बताउनु भयो। कार्यशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले नेपालका जुनोटिक रोगहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेल, डा. सन्तोष दुलाल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी अधिकृत डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय भरतपुरकी डाक्टर सबिना मिश्र, स्वास्थ्य लाइभका अध्यक्ष अर्जुन अधिकारीलगायतले एक स्वास्थ्यबारे सहजीकरण गरेका थिए । कार्यक्रममा चितवनका २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहनु भएको थियो ।

Subcategories