News

चैत १, चितवन । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् । रक्तदानको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सम्मानित हुन लागेका हुन् । प्रगती फाउण्डेसनले भारतको उत्तर प्रदेशमा बैशाख २१ गते औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदान गर्न लागेको नेपालले पुष्टी गरेका हुन् । लामो समय देखी रगत व्यवस्थापनमा काम गर्दै आएका रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले रगत व्यवस्थापन सँगै आफैंले अहिलेसम्म ४६ पटक रक्तदान गरिसकेका छन् ।

चैत १, चितवन । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।

यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरेको छ । गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयन गरिरहेको छ । जसमा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम बनाइएको हो । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।

यसलाई संशोधनमा कायम राख्दै गाउँपालिकाले सूचीकरण नगरी उडाए दोब्बर अर्थात् प्रतिउडान २० हजार रुपैयाँ शुल्क लाग्ने बनाइएको हो ।हेलिकप्टर उडानबाट अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तोकेको रुट परमिट लिएको हुनुपर्छ ।

रुट परमिट नलिएका विदेशी पर्यटकलाई उडानमा योग्य नमानिने कार्यविधिमा उल्लेख छ । संशोधन मार्फत सूचीकरण शुल्क ५ हजार रुपैयाँ तय गरिएको समेत राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

 

चितवन, चैत १ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्स् तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।

Subcategories